बैतडी: कप्तान नरेन भट्टकाे शतकमा बैतडीले वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा लगातार दाेस्राे जित दर्ता गरेकाे छ। दाेस्राे जित दर्ता गर्ने क्रममा आज बैतडीले डाेटीलाई ६ विकेटले पराजित गर्याे।
जितका लागि पाएकाे १६१ रनकाे लक्ष्य बैतडीले २४.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्याे। जसमा कप्तान नरेनले १११ रनकाे अविजित शतकीय पारी खेले। नरेन जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलाे खेलाडी हुन्। अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
डाेटीका आयुश द्वारिया,प्रकाशराज जाेशी,साैर्य श्रेष्ठ र आयुश खड्काले समान १/१ विकेट हात पारे।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे डाेटी ३८.३ ओभरमा १६० रनमा अलआउट भयाे। उसका याेगेश सुतारले ४४ र आयुश द्वारियाले ४३ रन बनाए।
बैतडीका सचिन भट्टले ३,कल्पेश चन्द ३ र आकाश चन्दले २ विकेट झारे।
बैतडीका कप्तान नरेन भट्ट खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयाे।
यसअघि बैतडीले पहिलो खेलमा दार्चुलामाथि २०९ रनकाे विशाल जित निकालेकाे थियाे।
दाेस्राे जितसंगै बैतडी अंकतालिकाकाे शिर्ष स्थानमा रहदै फाइनल नजिक पुगेकाे छ।
प्रतियोगिता अन्तरगत बिहीबार बैतडी र डडेल्धुरा भिड्नेछन् ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।
प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।
