बैतडी:भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले परियोजनाको बाँध बुधबार बिहान ६ बजेदेखि साउन १४ गते अर्थात बिहिबार अपराहन्न ६ बजे सम्म खोलिने जनाएको छ ।
बाँध खोलेको समय र त्यसपछिका केही घण्टा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बैतडी प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराइले बताउनुभयाे। धौलीगंगा पावरस्टेशनमा सिल्ट सरसफाइका लागि बाँध खोल्ने तयारी भएको बताइएको छ ।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न आग्रह गरिएको हो ।
धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला सिल्ट सरसफाइका लागि बेला–बेला खोल्ने गरिएको छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने गरेको छ ।
