काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपको तयारीका लागि चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने यू–१९ महिला क्रिकेट टोलीको बिदाई गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर टोलीको बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंहलगायतको उपस्थिती रहेको थियो ।
क्यानका अनुसार यु–१९ विश्वकपको तयारीका क्रममा नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको हो । बेल्ट एण्ड रोड सिरिज नोभेम्वर ३ देखि ८ सम्म हुनेछ । सो प्रतियोगितामा आयोजक चीन, नेपाल, हङकङ र थाइल्याण्ड सहभागी हुँदैछन् । चीनपछि नेपाली यु–१९ महिला टोलीले भारतमा समेत क्रिकेट सिरिज खेल्ने कार्यक्रम छ ।
चाइना जाने १५ सदस्यीय टोलीको कप्तानीमा क्यानले सोनी पाख्रिन रहेकी छन् । यस्तै रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा , अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा टोलीमा रहेका छन् ।
बिदाई समारोहमा बोल्दै कप्तान पाख्रिनले चाइना टुर विश्वकपको तयारीका लागि फाइदायोग्य रहने बताउनुभयो ।
नेपाली टोली आजै चाइना प्रस्थान गर्ने क्यानले जनाएको छ ।
