एनपीएलमा नेपाली खेलाडीकाे रेकर्ड: बने सबै खेलमा ‘म्याच विनर’

बलिङ र ब्याटिङको शिर्ष स्थानमा नेपालीनै, अर्धशतकमा पनि वर्चश्व

काठमाडौं:राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् । हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् ।

एनपीएल इतिहासमा यसरी लगातार छ खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेको पहिलो रेकर्ड हो ।

लिगको पहिलो खेलमा लुम्बिनीमा आबद्ध स्पिनर शेर मल्ल, दोस्रो म्याचमा चितवनमा आबद्ध कमल सिंह ऐरी, तेस्रो खेलमा कर्णालीमा आबद्ध स्पिनर युनिसविक्रम ठकुरी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यस्तै, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्समा आबद्ध राहुल यादव र छैटौँ म्याचमा कर्णाली याक्सका कप्तान सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ चुनिए ।

बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको सनसनीपूर्ण जित निकाल्यो । जसमा कप्तान सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरे । उनले अविजित ६२ रन बनाउनुका साथै बलिङमा पनि ४ विकेट हात पारेका थिए । यो खेलमा सोमपाल म्यान अफ दी म्याच चुनिए ।
बिहीबार नै सम्पन्न पहिलो खेलमा काठमाडौं गोर्खाजमाथि ८ विकेटको जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव चम्किए । काठमाडौंको पारी ध्वस्त पार्ने क्रममा राहुलले ४ विकेट चट्काउदै म्यान अफ दी म्याच चुनिए ।

बुधबार सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउने क्रममा दीपेन्द्रले अविजित ५१ रन र १ विकेट हात पारेका थिए । उनी खेलका उत्कृष्ट खेलाडी चुनिए ।

मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हरायो । जसमा युनिश विक्रम ठकुरीले ३ विकेट लिदैं प्लेयर अफ दी म्याच भए ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगरमाथि ८ रनको जित निकाल्दा कमलसिंह ऐरीले ४ विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई हराउँदा शेर मल्ल चम्किए । म्यान अफ दी म्याच समेत भएका शेरले ३ विकेट झारेका थिए ।

अर्धशतकमा पनि नेपालीको वर्चश्व

जारी एनपीएलमा हालसम्म पाँच अर्धशतक प्रहार भएका छन् । जसमा ३ नेपाली र २ विदेशी खेलाडीको नाममा छ ।

अर्धशतक हिकाउने नेपाली खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका ओपनर ब्याटर लोकेश बम रहेका छन् ।

विदेशी खेलाडीमा जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलान रहेका छन् ।

बलिङ र ब्याटिङमा पनि नेपाली खेलाडी नै शीर्षमा

नेपाली खेलाडीहरु जारी सिजनमा बलिङ र ब्याटिङमा पनि शीर्ष स्थानमा रहेका छन् । बलिङमा जनकपुर बोल्ट्सका राहुल यादव पहिलो स्थानमा छन् । उनले २ खेलमा ६ विकेट लिएका छन् ।

समान दुई खेलबाट समान ५ विकेट लिएका कर्णालीका कप्तान सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल क्रमशस् दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

दुई खेलबाटै ४ विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत खेलाडी चौथौ स्थानमा छन् । पाचौं स्थानमा भने एक खेलबाट ४ विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो अटाएका छन् ।

यस्तै ब्याटिङको पहिलो स्थानमा दुई खेलबाट एक अर्धशतकसहित ११३ रन जोडेका विराटनगरका लोकेश बम रहेका छन् । लोकेश प्रतियोगिताका व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन् । उनले कर्णालीकाविरुद्ध ८७ रन जोडेका थिए ।

दोस्रो स्थानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन् ।

ब्याटिङको तेस्रो र चौथो स्थानमा भने विदेशी खेलाडी अटाएका छन् । तेस्रो स्थानमा जनकपुरका मोइन अली छन् उनले एक खेलमा एक अर्धशतकसहित ७७ रन बनाएका छन् । चौथो स्थानमा रहेका कर्णालीका अरिफूल स्लामले दुई खेलबाट ७५ रन जोडेका छन् ।

पाचौं स्थानमा रहेका कर्णालीका नेपाली ब्याटर पवन सराफले २ खेलबाट ७३ रन हिर्काएका छन् ।

विश्व चर्चित खेलाडी समेत सहभागी प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि प्रशंसा गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“ विश्वका चर्चित खेलाडी समेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ । हामीले नेपाली क्रिकेटको व्यवशायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौं। जुन नेपाली खेलाडीले देखाइरहेका छन्। ”

उच्च स्कोर बनाउने कर्णाली, न्यूनमा सुदूरपश्चिम

प्रतियोगिताको उच्च स्कोर बनाउनेमा कर्णाली छ भने न्यून स्कोर बनाउने टोलीमा सुदूरपश्चिम छ । कर्णालीले १८७ रन बनाएको थियो भने सुदूरपश्चिमको ८७ रनमा समेटिन पुगेको थियो ।

प्रतियोगिताको उच्च साझेदारी भने जनकपुरका शैफ हसन र मोइन अलीबीच रहेको छ । हसन र अलीले काठमाडौंकाविरुद्ध तेस्रो विकेटका लागि गरेको ७९ रनको साझेदारी गरेका थिए ।

नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!