आजदेखि भारी वर्षा,अर्णव चक्रवातकाे प्रभाव

काठमाडौं:बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावले आजदेखि पर्सि शनिवारसम्म वर्षा र हिमपात हुने भएको छ ।

भारतबाट नेपालतर्फ सोझिरहेको प्रणालीको असरले हिजोदेखि बदली शुरु भएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम छ ।

आज दिउँसो मध्यमसम्मको वर्षा हुने र भरे बेलुकीदेखि पर्सि शनिवारसम्म केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो हावाहुरी चल्ने सम्भावना भने छैन ।

नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली यहाँसम्म आइपुग्दा धेरै कमजोर भैसक्ने उहाँको भनाइ छ । आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा वर्षा शुरु भएर भोलि थप तीव्रताका साथ पानी पर्ने उहाँले जानकारी दिनुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको पछिल्लो मौसमी बुलेटिनअनुसार देशका केही ठाउँमा भरेदेखि पर्सि शनिबारसम्म ठूलो वर्षा र हिमपात हुनेछ भने आइतवारदेखि मौसममा सुधार आउनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!