बैतडी:बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइँदैछ ।
हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज ब्रतालु महिलाहरुले गौरामन्दिरको गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रही आएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
ब्रतालु महिलाहरुले बिरुडाले दिनभरी फाग गाएर बिरुडा(विभिन्न पाँच थरीका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो(मन्त्रीएको एक किसिमको धागो) पनि आजै महिलाहरुले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै यहाँका महिलाहरुले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।
गौराघरबाट गौरालाई सिंगारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाहरुले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन रही आएको छ । गौराको उत्पत्ति, महेश्वरसंगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फाग मार्फत नै भन्ने गरेका छन् ।
ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दिर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरुले ठाडोखेल,ढुस्को धमारी लगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् ।
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।
सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् ।
त्यसैले गौरामा परदेशिएकाहरु पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।
यसैबीच गौरा पर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।
नेपाल सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरा पर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।