फाप्ला: धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएको दोस्रो खेलमा बोस्टन एकेडेमी झापामाथि डीसीए धनगढीले पाँच रनको रोमाञ्चक जित निकालेको छ ।
एक सय ४४ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन मात्रै बनाउनसक्यो ।
उसका लागि दिपु भुजेलले ३८, अरुण ऐरी र रोहन बिकले समान २६–२६ तथा रमेश भट्टले २५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
धनगढीका राहुल भण्डारी र नारायण जोशीले समान दुई–दुई तथा भोजराज भट्टले एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।
धनगढीका लागि लोकेश बमले ३६ बलमा ५७ रन बनाए । उनी खेलका म्यान अफ द म्याच भए । अमित श्रेष्ठले २५ तथा मिलन बोहराले १८ रन बनाए ।
बलिङतर्फ झापाका पवन कार्की, अविशेक कार्की र रोशन शाहले समान दुई–दुई तथा रुशिल रिमालले एक विकेट लिए ।
दुई खेलमा जित र एक खेलमा पराजित भएको धनगढी चार अंकसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । समान चार अंक नै भएको डडेल्धुरा राम्रो रनरेटका कारण शीर्ष स्थानमा छ ।
उक्त समूहमा रहेका झापा भने प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल खेलको घोडाघोडी–११ अंकविहीन हुँदा धनगढी र डडेल्धुरा सेमिफाइनल नजिक छन् ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् ।
