अर्जुन ट्रफीमा अत्तरियाकाे दाेस्राे उत्कृष्ट जित,काठमाडौं पराजित

फाप्ला: सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बी को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो।

जितसँगै अत्तरियाले दुई खेलबाट चार अंक पुर्‍याएको छ। काठमाडौंले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अत्तरियाले दिएको १४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो। 

काठमाडौंका सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए। विपिन आचार्याले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। काठमाडौंलाई सस्तैमा रोक्न कमल गुप्ताले सर्वाधिक पाँच विकेट लिए। ३.२ ओभर बलिङ गरेका उनले १० रन मात्रै खर्चिए। दीपेश कँडेलले दुई विकेट लिँदा शहवब आलम र सुनिल साउदको नाममा समान एक विकेट रह्यो।

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४२ रन बनायो। अत्तरियाका विवेक यादवले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए।

कप्तान सन्तोष कार्की २३, सन्दीप क्षेत्री १६ र शंकर राणा १४ रनमा आउट भए। काठमाडौंका दीपेन्द्र रावत र युनिस ठकुरीले समान दुई विकट लिए। सूर्य तामाङ, नितेश यादव र विपिन आचार्याको नाममा समान एक विकेट रह्यो।
अत्तरियाका कमल गुप्ता प्लेयर अफ द म्याच चुनिए ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!