फाप्ला: कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएकाे छ।
फाप्ला क्रिकेट मैदानमा भएकाे उद्धाटन खेलमा डीसीए धनगढीलाई ८ विकेटले पराजित गर्दै फ्रेन्डर्स क्लब डडेल्धुराले शानदार सुरूवात गरेकाे छ।
जितका लागि पाएकाे १३३ रनको लक्ष्य डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
डडेल्धुराका लागि कुशल भुर्तेलले ५१ बलमा ८७ रनको अविजित पारी खेले । यस्तै विनोद भण्डारीले ४२ रन बनाए । ३ रन जाेड्दा पहिलाे विकेट गुमाएर सुरूवाती झड्का लागेकाे डडेल्धुराका लागि त्यसपश्चात विनाेद र कुशलले १२१ रनकाे शतकीय साझेदारी गर्दै जित सुनिश्चित गरे।
धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । उसका लागि अमित श्रेष्ठले ३२, निरज ऐरले २७, कप्ता नारायण जोशीले १५ रन बनाए । डडेल्धुराका राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि बिष्टले २÷२ तथा हेमन्त धामीले १ विकेट लिए ।कुशल खेलका म्यान अफ द म्याच भए ।
यसअघि प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्धाटन गर्नुभएको थियाे ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरिबाट ८ वटा टीम सहभागी भएका छन् ।

