फाप्ला: अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिप आजदेखि हुँदैछ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताकाे उद्घाटन खेल आज मध्यान्ह १२:१५ हुने
आयोजक ‘गो ड्रिमर्स’ले जनाएको छ।
उद्घाटन खेलमा फ्रेन्डस युथ क्लब,डडेल्धुरा र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
डडेल्धुराबाट कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्।
धनगढीबाट ललीत राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडी मैदान उत्रिँदैछन् ।
नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेन्डरमा समावेश भएको याे प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयाे।
प्रतियोगितामा देशभरिबाट ८ वटा टीम सहभागी भएका छन् । दूई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह ‘ए’मा धनगढी, डडेल्धुरासँगै घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै, समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
अर्जुन ट्रफीमा करिब २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीका रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पाउनेछन् ।
