बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिकामा भाेलि मंगलबारदेखि हुने साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गाेष्ठीकाे तयारी पूरा भएकाे छ। राष्ट्रिय संरक्षण अभियानको आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रवर्द्धनमा मंगलबार र बुधबार खाेचलेकमा हुने सम्मेलन तथा गाेष्ठीकाे तयारी पूरा भएकाे हाे।
सम्मेलन तथा गाेष्ठीकाे आवश्यक तयारी पूरा भएकाे र गाेष्ठीमा हुने साहित्यकार र कविहरू पुग्ने क्रम जारी रहेकाे राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिनुभयाे ।
सम्मेलनमा नेपाल-भारतका साहित्यकार र कविहरूकाे सहभागिता रहने जनाएको छ। स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयाेजित सम्मेलनकाे उद्घाटन समाराेहमा स्थानीय छलिया नृत्य, सगुन,भडाहा, र फागहरूलगायत स्थानीय कला संस्कृतिकाे पनि प्रस्तुति रहनेछ।
सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूकाे सहभागीता रहने जनाएको छ।
सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, विद्वानहरूकाे कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ ।
सम्मेलनकाे उद्घाटन मंगलबार बिहान ११ बजे बरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली(सितविन्दु)ले गर्ने जनाइएको छ।
नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिएकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

