काठमाडौं: स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ।
अब साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ।
कान्सास सिटीमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
११२औँ मिनेटमा अल्भारेजले करिब २५ यार्ड टाढाबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लियो। त्यसपछि इन्ज्युरी समयमा मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
खेलको १०औँ मिनेटमै लियोनेल मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। तर दोस्रो हाफमा खेलमा फर्किएको स्विट्जरल्यान्डका लागि ६७औँ मिनेटमा डान न्डोयेले रिकार्डो रोड्रिगेजसँगको उत्कृष्ट तालमेलपछि गोल गर्दै बराबरी गरे।
खेलको सबैभन्दा विवादास्पद क्षण ७२औँ मिनेटमा आयो। स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल एम्बोलोलाई सुरुमा लियान्द्रो पारिडेसले फाउल गरेको ठानिएको थियो र पारिडेसले पहेंलो कार्ड पाए। तर भिएआरले पुनरावलोकन गर्दा एम्बोलोले फाउल भएको नाटक (डाइभिङ) गरेको देखिएपछि रेफ्रीले पारिडेसको कार्ड रद्द गर्दै एम्बोलोलाई दोस्रो पहेंलो कार्ड देखाए। दोस्रो पहेंलोका कारण एम्बोलो मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।
त्यसपछि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमायो र अल्भारेजको उत्कृष्ट गोलमार्फत अग्रता लियो।
बराबरी गोलको खोजीमा अगाडि बढेको स्विट्जरल्यान्ड काउन्टर अट्याकमा समातिँदा मार्टिनेजले अन्तिम मिनेटमा गोल गर्दै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेकाे छ।
