बैतडी: बैतडीको पाटनमा उदयदेव पाटन प्रिमियर लिग (यूपीपीएल)–६ आयोजना हुने भएको छ। खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ८ गतेदेखि सुरु हुने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयाे।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले बैतडी जिल्लाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन्। टिम दर्ताको समय असोज २७ गते राति १२ बजेसम्म तोकिएको छ।
दर्ता शुल्क १६ हजार ५०० राखिएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन।
त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समान ५ हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई ३ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण भव्य रूपमा सम्पन्न गरिसकेको छ। यस वर्ष प्रतियोगितालाई थप उत्साहजनक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजक एकता समाजका सचीव हरिश केसीले जानकारी दिनुभयाे।
यस वर्षको प्रतियोगिताको बिजेता टोलीले यसअघि जस्तै आकस्मिक लाभकर नकाटिकनै घोषणा गरिएको पूर्ण रकम पाउने क्लबका कोशाध्यक्ष बिरेन्द्र भण्डारीले जानकारी दिनुभयाे।
प्रतियोगिताकाे तयारी समेत थालिएको छ।
