काठमाडौं: वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व तथा बुवाकाे मुख हेर्ने दिन मनाउँदैछन् ।
हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ ।
यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ ।
बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् ।
