बैतडी: जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ ।
सदरमुकाममा रहेका मुख्य बजारहरु गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरुमा ७२ वटा बल्ब जडान गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले विद्युत् प्राधिकरणमा राखिएको स्वीच अन गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ ।
नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक बर्ष २०८१÷८२ मा ९ लाख ९९ हजार ७ सय ३५ रुपैयाँ बजेट राखिएको थियो । गत असारमा जडान गरिएका बल्बहरु जडान गरिएका थिए ।
यो कार्यक्रमका लागि चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक बर्षमा नगरपालिका देहीमाण्डौं, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताउनुभयो ।
उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्ने बताइएको छ ।
विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानहरूमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताउनुभयो ।
‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
