सुदूरपहाडमा बत्ती बाल्ने महिना शुरु,शक्तिपीठमा भक्तजनकाे भीड

हरेली संक्रान्ति मनाइदै

बैतडी: बैतडीसहित सुदूरपश्चिममा बत्ती बाल्ने महिना शुरु भएको छ । साउन महिनालाई पहाडी समुदायले बत्ती बाल्ने महिनाको रुपमा मनाउने गरेका पण्डित जयानन्द भट्टले बताउनुभयाे ।

श्रावण महिना शुरुभएसंगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्ने गरिएको छ ।
आजका दिनदेखि देवीदेवताका मन्दिरहरुमा जाग्राम बसेर भजनकीर्तन गर्ने चलन समेत रही आएकोे स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयाे ।
बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन समेत रही आएको छ।

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन् । साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले श्रावण महिनामा मन्दिरहरुमा भक्तजनहरु जाने गरेको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे,”साउन महिनाभरी देवीदेवताका मन्दिरहरुमा पूजापाठ गर्ने चलन रही आएको छ । श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ ।”

बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयबासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् । 

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगासधुरा मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, शिवनाथमा रहेको शिवनाथ मन्दिर, सुर्नया गाउँपालिकामा रहेको गोफाकेदार मन्दिर, पाटन नगरपालिकामा रहेको महारुद्र मन्दिर, दशरथचन्द नगरपालिका–१ मा रहेको महारुद्र मन्दिर लगायतका मन्दिरहरुमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् । 

श्रावण महिनाभरी मन्दिरमा राती जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।

यहाँका शक्तिपीठहरूमा श्रावण महिनाभरी दर्शनार्थीहरु घुइँचो लाग्ने गर्दछ।

यसैबीच साउने संक्रान्तिलाई बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हरेली संक्रान्तिका रुपमा मनाइदै छ ।  

साउने संक्रान्तिलाई हरेली संक्रान्तिका रुपमा मनाउने प्रचलन रही आएको छ । खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको छ । 

हरेलो हालेपछि खेतबारीमा अन्न उत्पादनमा वृद्धि हुने जनविश्वास रही आएको छ । खास गरेर धान खेतमा हरेलो हाल्ने चलन रही आएको भएपनि कतिपय ठाउँमा मकैबारीमा समेत हरेलो हाल्ने चलन रहेको छ । 

बर्खे बालीलाई नोक्सान नहोस भनेर हरेलो हाल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयाे । यो पर्व कृषि र मानव जीवनसंग जोडिएको छ । हरेली संक्रान्ति मानसखण्डको मौलिक पर्व हो । यसले कृषि र मानवसंगको सम्बन्धलाई जोड्ने काम गरेको छ ।

अन्नबालीलाई विभिन्न रोगकिरा तथा जंगली जनावरबाट जोगाउन सकिन्छ भन्ने मान्यतासहित हरेलो हाल्ने संस्कृति रहेको छ ।

तर पछिल्लो समयमा खेतबारीमा ‘हरेलो’हाल्ने चलन भने हराउँदै गएको छ । साउने संक्रान्तिमा नुवाइधुवाइ गरेर खेतबारीमा फलेको मेलको हाँगा गाडेर हरेलो हाल्ने चलन रही आएको भएपनि पछिल्लो समयमा यो चलन लोप हुन थालेको छ। मौलिक चलन र संस्कृतिको जगेर्ना गर्नुपर्ने भएपनि यो तर्फ नयाँ पुस्ताको ध्यान जान नसकेको हाे । 

मानव जीवन र प्रकृतिसंगको सम्बन्ध राख्ने हरेलो हाल्ने चलन राम्रो भएकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय देवदत्त भट्टले बताउनुभयाे । 

यस्तै घरघरमा साँझको समयमा स्थानीय भाषामा झिझरीकाँडी भनिने कुरिलो राख्ने चलन रही आएको छ । घरको मूलढोकामा झिझरीकाँडी अर्थात कुरिलो राख्ने चलन रही आएको हो । 

मूल ढोकामा कुरिलो राखेमा विभिन्न रोगब्याधी र कष्टबाट मुक्ति पाइने मान्यता रही आएको छ । यस्तै मूल ढोकामा झिझिरकाँडी राखेमा भूतप्रेत र राक्षसहरुको डर नहुने मान्यता रही आएको छ । 
 

 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!