बैतडी: बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउनुभएका पुण्य विक्रम पाैडेलले विपद् व्यवस्थापन र सुशासन प्राथमिकता रहने बताउनुभएको छ।
पत्रकारहरूसंगकाे परिचयात्मक कार्यक्रममा उहाँले वर्षातकाे समय सुरू भएकाेले विपद् व्यवस्थापन प्राथमिकता रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे,” वर्षातकाे समय विपद्का घटना बढी हुने गर्दछन्। विपद् व्यवस्थापनका प्राथमिकता रहनेछ। जसका लागि हामी सबैले साथ दिनुपर्छ।”
उहाँले सुशासन कायम गर्न,प्रविधिमैत्री र सूचनामैत्री कार्यालय,सीमा अपराधका विषयलाई पनि प्राथमिकता राखिने बताउनुभयाे।
उहाँले भन्नुभयाे,सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी राखिने छैन्। सीमा अपराध न्यूनीकरण गर्न र कार्यालयलाई प्रविधिमैत्री तथा सूचनामैत्री बनाउन प्रतिवद्ध छु।”
नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनका लागि घुम्ती टाेली सञ्चालन गरिने बताउदै उहाँले यसका लागि स्थानीय तहहरूकाे भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयाे।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएपछि पौडेल नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर हुनुभएको हाे ।
उहाँको गोरखा जिल्लाबाट बैतडी सरुवा भएको हो ।
हालै मात्रै प्रजिअकाे रूपमा बैतडी आउनुभएका पाैडेलले पत्रकारहरूसंग,सुरक्षा निकाय,राजनीतिक दलहरू,कार्यालय प्रमुख,जनप्रतिनिधिलगायतहरूसंग अन्तरक्रिया थाल्नुभएकाे छ ।
