काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसिबी) प्लेअफमा प्रवेश गरेकाे छ।
शनिबार सम्पन्न खेलमा चेन्नई सुपर किङ्सलाई २ रनले हराएर बैंगलुरू प्लेअफमा प्रवेश गरेकाे हाे।
११ खेलमा ८ जितका साथ १६ अंकसहित बैंगलुरू शिर्षस्थानमा रहदै प्लेअफमा सुरक्षित भयो ।
बैंगलुरू प्लेअफ प्रवेश गर्ने पहिलाे टाेली समेत बनेकाे छ।
जितका लागि २ सय १४ रनको चुनौती पछ्याएकाे चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा २११ रन मात्रै बनाउन सक्याे।
ओपनर आयुष माथरेले ९४ रन तथा रविन्द्र जडेजाले अविजित ७७ रन बनाएपनि अन्त्यमा पर्याप्त हुन सकेन ।
बेंगलुरुका लागि लुंगी एङ्गीडीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । क्रुणाल पान्ड्या र यश दयालले १-१ विकेट लिए ।
यसअघि टस जितेर चेन्नईले फिल्डिङ रोजेकेमा आरसिबीले पहिले ब्याटिङ २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १३ रन बनायाे।
सुरुवात राम्रो गरेको आरसिबीले पहिलो पावर प्लेमा ७२ रन जोड्यो। जाकोब बेथेल र विराट कोहलीले पहिलो विकेटको लागि ९७ रनको साझेदारी गरे।
यी दुईले चेन्नईका बलरहरूलाई दबाब दिए। दुवैले अर्धशतक बनाए। ९.५ओभरमा माथिसा पाथीरानाले यो साझेदारी तोडे। ३३ बलमा ८ चौका र २ छक्का सहित ५५ रन जोडेर जाकोब आउट भए।
सानदार ब्याटिङ गरेका विराटले मात्र ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। उनले ६२ रनको योगदान दिए।
याे विराटकाे ६२ औं कीर्तिमानी अर्धशतक हाे। आइपीएल इतिहासमा सबैभन्दा बढी ६२ अर्धशतक हिर्काएकाे कीर्तिमान डेभिड वार्नरकाे नाममा रहेकाे थियाे । उक्त कीर्तिमानमा बराबरी गरे।
यसका जारी सिजनमा ५०५ रन हिर्काउदै विराट ओरेन्ज क्यापकाे दाैडमा पहिलाे स्थानमा पुगेका छन्।
ओपनरले सुरुवात दिलाए पनि मिडिल अर्डरका ब्याटरको प्रदर्शन फितलो रहयो। देवदत्त पाडिक्कल १७ रनमा, कप्तान रजत पाटिदार ११ रनमा र जितेश शर्मा ७ रनमा आउट भए।
तर सातौं क्रमका रोमारियो सेपर्डले बिष्फोटक ब्याटिङ गरे। १४ बल मात्र खेल्दै ४ चौका र ६ छक्का सहित अविजित ५३ रनको सानदार पारी खेल्दै टिमको योगफल बढाउन महत्वपूर्ण भुमिका खेले।
माथिसा पाथीरानाले ४ ओभरमा ३६ रन दिएर ३ विकेट लिए। नुर अहमद र साम कुरानले समान १ विकेट झारे।
बैंग्लुरुको यो आठौं जित हो। ११ खेल खेलेको बैंग्लुरुले १६ अंक पुर्याएको छ।
चेन्नईको भने यो नवौं हार हो। पुछारमा रहेको चेन्नईको समान खेलबाट चार अंक छ। चेन्नई प्रतियोगिताबाट बाहिरिसकेकाे छ।

