काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई उसकै घरेलु मैदानमा हराएको छ।
मंगलबार सम्पन्न खेलमा लखनउले कोलकातामाथि चार रनको रोमाञ्चक जित हात पारेको हो।
कप्तान अजिंक्य रहाणेको अर्धशतकको बाबजुद घरेलु टोली कोलकाताले तेस्रो हार बेहोरेको छ।
योसँगै लखनउले पाँच खेलबाट ६ अंक पुर्याएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ।
लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २३४ रन मात्रै बनाउन सक्यो।
कोलकाताका कप्तान अजिंक्यले सर्वाधिक ६१ रन बनाए। ३५ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए। तर, यी दुई ब्याटरले टोलीको हार टार्न सकेनन्।
सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भए। रिन्कु सिंहले १५ बलमा ६ चौका र दुई छक्कासहित ३८ रनको अविजित इनिङ्स खेले।
लखनउका आकाश दीप र सर्दूल ठाकुरले समान दुई विकेट लिए।
यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन बनायाे।
लखनउका निकोलस पुरनले सर्वाधिक ८७ रन बनाए। ३५ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे। मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए।
एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहे।
