दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

एजेन्सी:  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मङ्गलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उहाँको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

उहाँ भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुनुहुन्छ । उहाँको पार्टीले उहाँको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ । 
सर्वोच्च अदालतले गत साता उहाँलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने शर्तमा जमानत दिएको थियो ।केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिनुभयो ।

दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उहाँको स्थान लिनुहुनेछ । त्रिचालीस वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताउनुभयो । “दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो”, उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!