बैतडी:जननायक विश्वेशरप्रसाद काेइरालाकाे १११औं जन्मजयन्ती बैतडीमा पनि मनाइएको छ। नेपाली कांग्रेस बैतडीको आयाेजनामा पाटनमा एकदिने अन्तरक्रिया कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हाे।
पाटन नगरपालिका सभाहलमा गरिएको अन्तरक्रियामा पार्टीका नेताकार्यकर्ता,शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताउनुभयाे।
पार्टीका कार्यवहाक सभापति खगेन्द्रसिंह धामीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि पुर्व पार्टी सभापति नरेन्द्र विष्ट रहनुभएकाे थियोे ।
कार्यक्रममा बाेल्ने अधिकांस वक्ताले विपीकाे विचारअनुसार कांग्रेस पार्टी चल्नुकाे विकल्प नरहेकाे बताएका नेपाली कांग्रेस बैतडीका अर्का सचिव देवराज जाेशीले जानकारी दिनुभयाे।
कांग्रेस पार्टी विपीकाे विचार सिद्धान्तअनुसार चल्नुपर्ने पार्टी पुर्वसभापति विष्टले बताउनुभयाे। उहाँले भन्नुभयाे,” नेपाली कांग्रेस विपीकाे विचार र सिद्धान्तअनुसार चलेकाे पार्टी भएकालेे साेहीअनुसार चल्नुपर्छ। साथै विभिन्न विषयमा प्रशिक्षण सञ्चालन हुन पनि अति आवश्यक छ। ”
यसका साथै आज कांग्रेस बैतडीले सञ्चालन गरेकाे ‘दैलाे अभियान’ काे पनि समापन गरिएको छ।
जेठ पहिलाे साता नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पञ्चेश्वर गाउँपालिका ४ सैलाेडाबाट उक्त अभियानकाे शुभारम्भ गर्नुभएको थियो ।
पञ्चेश्वर-पुर्चाैडी दैलाे अभियान नाम दिइएको उक्त अभियान १२० दिनसम्म सञ्चालन भएकाे थियाे।
अभियानले कांग्रेसको संगठनलाई विस्तार गर्न र पार्टी मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेकाे समापन समारोहमा बाेल्ने नेताहरूले बताएका छन् ।
पैदल रूपमा सञ्चालन हुने अभियानमा गाउँमै तथा टाेलबस्तीमै बास बस्ने,जनतासँग प्रत्यक्ष भेटघाट,किसानहरूसंग खेतबारीमै भेटघाट,विकास निर्माण,पार्टीबारेकाे जनताको धारणा,सुझाव,संगठनकाे अवस्था, भष्टाचारविरूद्धका कुरा उठाउने लगायतका बारेमा छलफल तथा अन्तरक्रिया गरिएकाे जनाएको छ।
यसका साथै उक्त अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, कांग्रेसका नेता, कार्यकर्ताहरुलाई सक्रिय बनाउने र पार्टीलाई चलायमान बनाउन सहयाेग पुग्ने विश्वास गरिएको छ।

