काठमाडौं: श्रीलंकामा जारी महिला एसिया कप २०२४ को सेमिफाइनलमा बंगलादेशलाई स्तब्ध पार्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
७ पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यो संगै भारत नवौं पटक महिला एसिया कपको फाइनलमा पुगेको छ ।
जितका लागि पाएको ८१ रन लक्ष्य भारतले विना विकेटको क्षतीमा ११ ओभरमा पुरा गर्यो ।
भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो ।बंगलादेशकि कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।
बंगलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठूलो धक्का दिएका थिए । फास्ट बलर रेनुका सिंह ठाकुरले बंगलादेशको टप अर्डरलाई लगातार प्याभिलियन पठाए र टोलीको स्कोर २१र३ मा पुर्याइन् ।
यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बंगलादेशी ब्याट्सम्यानलाई हावी हुन दिएनन् । आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन् ।
भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १–१ विकेट लिए ।
उत्कृष्ट बलिङका लागि रेणुका सिंह ठाकुर प्लेयर अफ द म्याच घोषित भइन् ।
