बैतडी: धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ।
बैतडीको दशरथ चन्द एकेडेमी बैतडीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। विभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश गरेर बैतडीले टीम घोषणा गरेको हो। टीममा विभागीय टिम एफिएफका खेलाडी अमर सिंह रौटेला सहित दिवान पुन, रुपेश सिंह, बसन्त खत्री, खडक बोहोरा, दिपक बोहोरा रहेका छन्।
यसैगरी टीममा प्रदीप चन्द, हिमाल दौल्याल, जनक सुनार, दिपक चन्द, लोकेश चन्द, सुमीत बुडाल र सल्लाउद्धिन खान बैतडीको टिममा रहेका छन्।
टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा जीवन शाही रहेका छन्।
बैतडीले माघ २० गते सिवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। माघ २२ गते न्यु होराईजन बुटबलसँग खेल्ने छ भने माघ २४ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंसँग प्रतिस्पर्धा गर्नेछ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याट प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।
