काठमाडौं: प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम राेयल्सले विराटनगर किङसलाई १८३ रनकाे लक्ष्य दिएकाे छ।
याे स्काेर जारी प्रतियोगिताकै उच्च हाे। यसअघि कर्णालीले १४१ रन बनाएकाे थियोे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनायाे। सुदूरले अन्तिम ओभरमा २३ रन जाेड्याे।
जसमा कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै २४ बलमा अविजित ५७ रन बनाए।
दीपेन्द्र एनपीएलमा अर्धशतक हिर्काउने दाेस्राे नेपाली खेलाडी पनि बने । यसअघि जनकपुरका कप्तान अनिल शाहले पनि अर्धशतक जाेडेका थिए।
विराटनगरका अनिल खरेलले ३ विकेट हात पारे।
सुदूरपश्चिम पहिलाे खेल खेलिरहेकाले सुखद सुरूवात गर्न चाहन्छ। पहिलो खेलमा पराजित विराटनगर आजकाे खेल जित्ने लक्ष्यमा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।
