प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बैतडी: बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका वडा नं ८ मा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको यो जात्रालाई स्थानीय भाषामा ‘अषाढी जात’ पनि भनिन्छ ।
हरेक बर्ष असार शुक्ल पक्षको अष्टमी र नवमी तिथीमा मन्दिरमा ‘अषाढी जात’लाग्ने स्थानीय राजेन्द्रसिंह थापाले जानकारी दिनुभयो । असार शुक्ल पक्षको प्रतिपदाका दिनदेखि दिनगन्ती गरेर आठौं दिनमा जात्रा शुरु हुने र नवमीको दिनमा जात्रा सम्पन्न हुने गर्दछ ।

हिजोदेखि सुरु भएको जात्रा आज बलिसहित सम्पन्न भएको स्थानीय जयसिंह धामीले जानकारी दिनुभयो ।

असार शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने चलन रही आएको छ । नवमीका दिन त्रिपुरासुन्दरीको सवारी कापडीगाउँमा हुने र त्यहाँबाट फर्केपछि सिंहासनमा विराजमान गराइने चलन रही आएको छ । असार शुक्ल नवमीको साँझ भण्डार घरमा भण्डार पुर्याएपछि जात्रा समापन भएको हो ।
‘अषाढी जात’मा पनि दर्शनार्थीहरुको घुइँचो थियो । त्रिपुरासुन्दरीको जात्रामा दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । भारतको झुलाघाट, पिथौरागढ लगायतका क्षेत्रबाट त्रिपुरासुन्दरीको दर्शनका लागि दर्शनार्थीहरु यहाँ पुग्नुभएको थियो ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको कार्तिक शुक्ल अष्टमी र नवमी तथा असार शुक्ल अष्टमी र नवमीका दिन बलिसहितको जात्रा हुने गरेको छ ।

यस्तै असोजको नवरात्र र चैतै दशैंमा पनि मन्दिरमा पूजाआजासहितको जात्रा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवतीलाई स्थानीयहरुले रणशैनी भगवतीको रुपमा पुर्काने गरिएको छ ।
त्रिपुरासुन्दरीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!