बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा आजदेखि साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गाेष्ठी सुरू भएकाे छ। राष्ट्रिय संरक्षण अभियानको आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रवर्द्धनमा सुरू भएको सम्मेलन तथा गाेष्ठी दुईदिनसम्म चल्नेछ ।
सम्मेलन तथा गाेष्ठीकाे बरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली(सितविन्दु)ले गर्नुभयाे।
स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयाेजित सम्मेलनकाे उद्घाटन समाराेहमा सगुन,भडाहा, र फागहरूलगायत स्थानीय कला संस्कृतिकाे पनि प्रस्तुति राखिएका छन् ।
श्रीकाेट बहुमुखी क्याम्पसमा सुरू भएकाे सम्मेलनमा नेपाल-भारतका एक सय बढी साहित्यकार र कविहरूकाे सहभागिता रहेकाे राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिनुभयाे ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । यसका साथै कवि गोष्ठी, विद्वानहरूकाे कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइने जनाइएको छ।
नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिएकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

