बैतडी: पहिराका कारण अवरुद्ध भएको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । अविरल वर्षापछि आज बिहान जिल्लाको पाटन नगरपालिका ८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
सडकमा खसेको पहिरो डोजरको सहयताले पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
बिहान ७ बजे बन्द भएको राजमार्ग मध्यान्ह १२ बजेबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
अवरुद्ध राजमार्गमा सञ्चालनमा आएसंगै सवारीसाधन सञ्चालनमा आएका र बीचबाटोमै अलपत्र परेका यात्रुहरु पनि आ आफ्नो गन्तब्यतर्फ लागेका छन् ।
जयपृथ्वी राजमार्ग वर्षातको समय बेलाबेला अवरुद्ध हुने गरेको छ । यसअघि असार २२ गते बेलुका सिगास गाउँपालिका ९ को आलुगैरामा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।
यसैबीच पहिराकै कारण आज बिहानैदेखि अवरुद्ध बनेको देहिमाडौं–गिरेगडा सडक अझै सुचारु हुन सकेको छैन् । उक्त सडकखण्डको सेडामा पहिरो खस्दा यातायात सेवा बन्द रहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भएपनि निरन्तरको वर्षाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
