बैतडी:बैतडीको पाटनमा सम्पन्न छैटौं संस्करणको उदयदेव पाटन प्रिमियर लिगको उपाधि कैलपाल उदयदेव युवा क्लब (क्वालीटी)ले हात पारेको छ । कैलपालले दाेस्राेपटक उपाधि हात पारेको हाे। कैलपाल पहिलो संस्करणको विजेता समेत हाे
श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा पाटन भ्याली क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै क्वालिटीले उपाधि रक्षा गर्याे।
उपाधिसँगै कैलपालले १ लाख ५५ हजार ६६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता टोली पाटन भ्यालीले ५५ हजार ६६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायाे।
२१३ रनको विजयी लक्ष्य पछ्याएको भ्यालीले निर्धारित २० ओभरमा १७६ रन बनाएको थियो । भ्यालीका प्रकाश पाण्डेयले ५९ तथा लक्ष्मण कार्कीले ५१ रनको योगदान दिएपनि जित निकाल्न सकेन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कैलपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनायो ।
कैलपालका आयुश चन्दले ८० तथा प्रदीप चन्दले ५० रनको अर्धसतकीय इनिङ खेले । भ्यालीका टेक जोशीले ५ विकेट लिए ।
यसैबीच प्रतियोगितामा कैलपालका खडक बोहरा म्यान अफ दी सिरिज र बेस्ट ब्याट्सम्यान चुनिए । बेस्ट बलर पाटन स्टारका निखिल चन्द भए।
समापन समाराेहमा पाटन नगरपालिकाका प्रमुख गाैरीसिंह रावल,जिल्ला खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दलगायतकाे उपस्थिति रहेकाे आयाेजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले बताउनुभयो ।
यसअघि सम्पन्न पाचौं र चौथो संस्करणको उपाधि कोइनोडा टिम गुरूखोला लायन्सले हात पारेको थियो । यस्तै तेस्रो मेलौली नगरपालिका,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय र पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब जर्ग भएको थियो ।
