आज लक्ष्मीपूजा र कुकुर तिहार मनाइँदै

काठमाडौँ: तिहारको तेस्रो दिन आज कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा एकैदिन मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तिहारको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तेस्रो दिन परेको हो । यस दिन घरको सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा परिकार खुवाएर पूजा तथा सम्मान गर्ने परम्परा छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको पौराणिक मान्यता छ ।

कुकुरलाई आज्ञापालक, इमानदार र सुरक्षाका दृष्टिले भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । पछिल्लो समय कुकुर पाल्दा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वासका कारण यसको महत्व बढ्दै गएको छ ।

यसैगरी आज नरक चतुर्दशी पनि मनाइँदैछ । यस दिन बिहान अरुणोदयकालमा नदी, तलाउ तथा विभिन्न तीर्थस्थलमा गई स्नान र तर्पण गर्ने तथा यमदीप दक्षिण फर्काएर बाल्दै बगाउने परम्परा छ । यसरी दीप बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास रहेको छ । बत्ती बालेर बगाउने यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ ।

आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि मनाइँदैछ । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ समेत भनिन्छ ।

सफासुग्घर र उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासअनुसार बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा तथा कौसी सफा गरी फूलमालाले सजाउने गरिन्छ । साँझ घरको आँगनदेखि पूजाकोठासम्म गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाउने चलन छ ।

लक्ष्मीको स्वागतका लागि घरको मूलढोकादेखि पूजाकोठासम्म केराको सुत्ला वा माटाका पालामा दीप प्रज्वलन गरी घरलाई झिलिमिली बनाइन्छ । यसरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मीको पूजा आराधना गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!