पहिराले खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

करेन्ट लागेर बाख्रा मर्यो

बैतडी: अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्र्तगत बैतडीको सिगास गाउँपालिका ९ को आलुगैरामा शनिबार बेलुका पौने ७ बजेतिर पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

सडक माथिबाट पहिरोसंगै रुख खसेर राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको भएपनि निरन्तरको वर्षाका कारण समस्या भएको जनाएको छ ।

यस्तै करेन्ट लागेर जिल्लाको शिवनाथ गाउँपालिका ६ का हरिसिंह धनाडीको एक बाख्रा मरेको छ । घर नजिकै रहेको विद्युतको खम्बामा करेन्ट लागेर बाख्रा मरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

जलवायु तथा मौसम विज्ञान विभागले बैतडीमा आइतबारसम्म भारी वर्षा हुने भन्दै रेडजोनमा राखेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!