दोगडाकेदारमा प्रयोगशाला कटौतीको बिरोध,जिल्ला प्रशासन पुग्यो निवेदन

गाउँपालिकाको वेवास्ता,थप आन्दोलन गर्ने चेतावनी

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा रहेको प्रयोगशाला सेवा बन्द गरेर सारिएपछि बिरोध सुरु भएको छ । दोगडाकेदार गाउँपालिकाले आधारभूत/१० शैय्याको अस्पतालबाटै प्रयोगशाला सेवा दिने भन्दै गएको असारमै प्रयोगशालाका सामग्री सारेको थियो ।

गाउँपालिकाको आधारभूत अस्पताल वडा नं ६ सित्तडमा निर्माण गरिएको छ । अहिलेसम्म आधारभूत अस्पतालबाट सेवा सञ्चालन हुन सकेको छैन् । प्रयोगशाला सामग्री सारेर गाउँपालिकाले थन्काएर राखेको छ ।

श्रीकोट स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा बन्द गरिएपछि स्थानीयबासीले बिरोध जनाएका हुन् । यहाँ प्रयोगशाला सञ्चालन हुँदा दोगडाकेदार वडा नं २,३,४,५,६,७,८ र दशरथचन्द नगरपालिका वडा नं १ का नागरिकले समेत सेवा लिइरहेका थिए । अहिले यो क्षेत्रका नागरिक उक्त सेवाबाट पूर्ण रुपमा बञ्चित भएका छन् ।

प्रयोगशाला पुर्नस्थापनाको माग,अन्यथा थप आन्दोलन गर्ने चेतावनी

गाउँपालिकाले वैकल्पिक व्यवस्था नगरेरै प्रयोगशाला सेवा बन्द गरेकोपछि बिरोध सुरु भएको स्थानीय बलराज भट्टले बताउनुभयो ।
श्रीकोट स्वास्थ्यचौकीमा २०७५ सालदेखि प्रयोगशाला सेवा सञ्चालनमा रहेको थियो । उहाँले भन्नुभयो,“ वैकल्पिक व्यवस्था नगरी प्रयोगशाला सेवा कटौती गरेकोमा हाम्रो बिरोध हो । सारिएको प्रयोगशाला पुर्नस्थापनाको माग गर्दछौं,अन्यथा थप आन्दोलनका कार्यक्रम गर्छौ ।”

आधारभूत अस्पताल सञ्चालनको नाममा स्वास्थ्य चौकीका सेवा कटौती गरेर लगिनु उपयुक्त नरहेको उहाँको भनाई छ ।

प्रयोगशाला नहुँदा सामान्य चेकजाँचका लागि बिरामीहरुले जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रही आएको छ । गाउँमा भारइल ज्वरो फैलिएको र ल्याब परीक्षणका लागि सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीय गणेश विष्टले बताउनुभयो ।
गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गर्दा अनिवार्य ब्लड ग्रुप र हेमोग्लोबिन जाँच गर्नुपर्दछ,तर प्रयोगशालाकै लागि गर्भवतीले जोखिम मोलेर सदरमुकाम पुग्नुे गरेका छन् ।
श्रीकोटबाट प्रयोगशालासँगै आँखा उपचार केन्द्र समेत सारिएको छ।

जिल्ला प्रशासनमा स्थानीयको निवेदन

श्रीकोट स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला कटौती गरेर अन्त लगिएपछि स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । वर्षौदेखि पाउँदै आएको प्रयोगशाला सेवा आधारभूत अस्पताल सञ्चालनको नाममा सारेपछि पुर्नस्थापना हुनुपर्ने मागसहित निवेदन दिएका हुन् ।

निवेदनमा गाउँपालिका स्थानीय नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नरहेको आरोप लगाइएको छ । स्थानीयलाई जानकारी नै नदिइ प्रयोगशाला सारिएको र यो विषयमा पालिकालालाई बुझ्न खोज्दा कुनै वास्ता नगरेको आरोप छ । आफ्नो मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम गरिने जनाएको छ ।

उता प्रमुख जिल्ला अधिकारी मीना अर्यालले पनि प्रयोगशाला सारिएको विषयमा गुनासो आएको बताउदैं गाउँपालिकासँग सोधपुछको काम भइरहेको जानकारी दिनुभयो । स्वास्थ्यजस्तो संवेदनशील कुरालाई गाउँपालिकाले गम्भीर रुपमा लिनुपर्ने र स्थानीयको मागका विषयलाई सम्बोधन गर्न आवश्यक रहेको औल्याउनुभयो ।

के भन्छ गाउँपालिका ?

सित्तडमा आधारभूत अस्पताल सञ्चालन गर्ने भनेर भवन निर्माणको काम सम्पन्न भएर गाउँपालिकाले जनशक्ति र आवश्यक उपकरणका लागि विज्ञापन गरेको छ । असारबाटै आधारभूत अस्पताल सञ्चालन गर्ने भनेर तम्सिएको पालिका अझै जनशक्ति व्यवस्था गर्न नसक्दा कहिलेदेखि सञ्चालन गर्ने भन्ने निश्चित टुंगोमा पुगेको छैन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार असोजसम्म जनशक्ति व्यवस्थापन र उपकरण खरिदको काम सम्पन्न गरेर त्यसपछि मात्रै अस्पताल सञ्चालन हुनेछ । उहाँले भन्नुभयो,“असोज अन्तिमसम्म जनशक्ति र अन्य व्यवस्थापनको काम सम्पन्न हुन्छ त्यसपछि कात्तिकसम्म अस्पतालका सेवा सञ्चालन गर्छौै ।”

श्रीकोटमा प्रयोगशाला पुर्नस्थापनाको सम्भावना भने न्यून रहेको उहाँले बताउनुभयो ।

तर गाउँपालिकाका सबै सेवाग्राहीहरुलाई आधारभूत अस्पताल पुग्नुभन्दा जिल्ला अस्पताल पुग्न सहज हुने भएकाले हचुवाको भरमा अस्पताल निर्माण गरिएको स्थानीयहरुको आरोप रही आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!