दोगडाकेदार: १० शैय्या अस्पतालको नाममा स्वास्थ्यचौकीका सेवा काटिए !
श्रीकोटको प्रयोगशाला सारियो, बिरामी सदरमुकाम जान बाध्य
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले १० शैय्या अस्पताल सञ्चालन गर्ने नाममा वडास्तरमा रहेका स्वास्थ्यचौकीबाट प्रदान भइरहेका सेवा सुविधा समेत कटौती गरेको पाइएको छ ।
दश शैय्या अस्पताल सञ्चालन गर्ने भन्दै गाउँपालिका–६ सित्तडमा भवन निर्माण गरिएको छ । तर अस्पताल सञ्चालन गर्ने नाममा पालिकाले स्वास्थ्यचौकीबाट प्रदान गरिदै आएका सेवा काट्दै लगेको हो । पालिकाले श्रीकोट स्वास्थ्यचौकीमा वि स २०७५ सालदेखि सञ्चालनमा रहेको प्रयोगशाला सेवा बन्द गरेर १० शैय्या अस्पताल भवनमा सारेको छ । प्रयोगशाला मात्रै नभएर श्रीकोटमा रहेको आँखा उपचार केन्द्र समेत सारिएको छ ।
श्रीकोटबाट प्रयोगशालाका उपकरण सारेर थन्काइयो
श्रीकोटमा रहेको प्रयोगशाला सेवा बन्द गरेर उपकरण थन्काइएपछि स्थानीयले बिरोध गरेका छन् । अस्पतालका सेवा सञ्चालन हुने टुंगो नहुँदै प्रयोगशालाका सामग्री र उपकरण सारिएको हो ।
प्रयोगशालाका सामग्री सारिएको भएपनि सेवा भने उता सुरु भएको छैन् । सामग्री उतिकै थन्काइएको छ । दश शैय्या अस्पताल कात्तिकभन्दा अगाडी सञ्चालन हुने सम्भावना न्यून रहेको छ । तर प्रयोगशाला सामग्री भने ३ महिना अगाडी नै लगेर थन्काइएपछि स्थानीयले बिरोध गरेका हुन् ।श्रीकोटमा रहेका प्रयोगशाला सामग्री गत असारमै सारिएका हुन् ।
बिरामी सदरमुकाम जान बाध्य
सामग्री र उपकरण सारिएपछि स्थानीय नागरिक सदरमुकाम धाउन बाध्य भएका छन् । श्रीकोटमा प्रयोगशाला सञ्चालन हुँदा श्रीकोटसहित देउलेक, कमलपुर, कटौजपानी सित्तड, न्वाली, श्रीकेदारलगायतका नागरिका लाभान्वित रहेका थिए । सेवा सञ्चालन हुँदा यहाँ रगत, खकार, दिसा, पिसाबलगायत जाँजको काम गरिन्थ्यो ।
प्रयोगशाला बन्द हुँदा सामान्य परिक्षणका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको स्थानीय शंकरदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ नजिकै रहेको प्रयोगशाला सेवा काटेर गाउँपालिकाले लगेको छ । सर्वसाधारण सामान्य ल्याब परिक्षणका लागि पनि सदरमुकाम धाउन बाध्य छन् । अस्पताल सञ्चालन गर्ने नाममा ३ महिना पहिल्यै प्रयोगशाला बन्द गरेर उपकरण लगेर थन्काएको छ ।”
वर्षौदेखि पाउँदै आएको प्रयोगशाला सेवा पुनः सञ्चालन हुनुपर्ने स्थानीयको माग छ ।
श्रीकोट स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा नहुँदा नागरिक उक्त सेवाबाट बञ्चित भएका छन् । हाल पनि दैनिक रुपमा प्रयोगशाला सेवा लिने बिरामी आउने गरेका भएपनि सेवा बन्द हुँदा फर्किने गरेका श्रीकोट स्वास्थ्य चौकीका ईञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा लिन आउने बिरामी फर्किने गरेका छन् ।”
श्रीकोट स्वास्थ्यचौकी गाउँपालिकाका अधिकांस वडाको पायक पर्ने स्वास्थ्य चौकी समेत रहेकोले यहाँ प्रयोगशाला सेवा आवश्यक रहेको ईञ्चार्ज भाटले बताउनुभयो ।
पालिकास्तरीय अस्पतालका लागि प्रयोगशाला सेवा अनिवार्य भएपनि स्वास्थ्य चौकीको सेवा काट्न नहुँने स्थानीयको भनाई छ ।
प्रयोगशाला सेवा नहुँदा गर्भवती र जेष्ठ नागरिकलाई बढी समस्या
प्रयोगशाला सेवा नहुँदा गर्भवती महिला,जेष्ठ नागरिक बढी समस्यामा परेका छन् । गर्भवती महिलाको पहिलो गर्भ जाँच गर्दा ब्लड ग्रुप, हेमोग्लोबिन जाँच अनिवार्य गर्नुपर्ने हुन्छ । हाल गर्भवती महिला समेत जोखि मोलेर सदरमुकाम जान बाध्य छन् ।
दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले श्रीकोटबाट प्रयोगशाला सामग्री,उपकरणहरु लगिएको स्वीकार गर्नुभयो । दश शैय्या अस्पताल सञ्चालनका लागि उपकरण र सामग्री सारिएको हो । उहाँले भन्नुभयो,“उपकरण र सामग्री सारिएको भएपनि जनशक्ति नहुँदा सेवा सञ्चालन हुन सकेको छैन्, अहिले उपकरणहरु सुरक्षित रुपमा राखेका छौं । दश शैय्या अस्पताल अन्र्तगत प्रयोगशालाका लागि आवश्यक पर्ने ल्याब टेक्निसियन पदपूर्ति भएपछि मात्रै सेवा सञ्चालन गर्छौ ।”
अस्पताल सञ्चालनका आवश्यकता हेरेर पालिकाका विभिन्न स्वास्थ्यसंस्थाका स्टार्फ नर्स, अहेब, अनमीहरु पनि तानिने बताउनुभयो ।
श्रीकोटमा प्रयोगशाला सेवा पुनः सञ्चालन गर्छौः अध्यक्ष कार्की
यता गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले पनि दश शैय्या अस्पताल सञ्चालनका लागि श्रीकोटको प्रयोगशाला सार्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,“ दश शैय्या अस्पतालका लागि भनेर श्रीकोटमा रहेको प्रयोगशाला सारेका हौं ।” श्रीकोटमा पनि प्रयोगशाला सेवा आवश्यक रहेको बताउँदै अध्यक्ष कार्कीले तत्काल बजेट अभावले गर्दा सार्नुपरेको दाबी गर्नुभयो । पछि बजेट व्यवस्थापन हुन सके श्रीकोटमा पनि प्रयोगशाला सेवा सञ्चालन गरिने अध्यक्ष कार्कीले आश्वासन दिनुभयो ।
कहिले हुन्छ १० शैय्या अस्पताल सञ्चालन?
दोगडाकेदारमा करिब एक वर्ष अघि आठ करोडमा बनेको तीनतले आधुनिक अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । तर हालसम्म पनि सञ्चालन हुन सकेको छैन् । अस्पतालका सेवा सञ्चालन कहिलेदेखि सुरु हुन्छ? भन्ने प्रश्नमा– गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले आवश्यक जनशक्ति परिपूर्ति गर्न विज्ञापन गरिएकोले दशैंतिहारसम्म सञ्चालन हुने बताउनुभयो । यसका साथै उपकरण खरिदको काम पनि भइरहेको जानकारी दिनुभयो ।
