बैतडी : गृह मन्त्रालयले बैतडीका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईलाई संखुवासभा सरुवा गर्दै बैतडीमा उपसचिव मिना अर्याललाई प्रजिअको जिम्मेवारी दिएको छ।
अर्याल यसअघि डडेल्धुराको प्रजिअमा सरुवा भएकी हुनुहुन्थ्यो। तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेको अवस्थामा पुनः सोही तहको कर्मचारीलाई सरुवा गरिएको विषयमा समस्या देखिएपछि उहाँ गृह मन्त्रालयमै रोकिनुभएको थियो । मन्त्रालयले पछिल्लो निर्णयबाट उहाँलाई बैतडीको प्रजिअमा खटाएको हो।
मन्त्रालयले बैतडीका प्रजिअ भट्टराईलाई संखुवासभाको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी सरुवा गरेको छ। संखुवासभाको प्रजिअ पद पछिल्लो समय रिक्त थियो।
कप्तानगञ्ज घटनापछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेलाई मन्त्रालय तानिएको र संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई त्यहाँ खटाइएपछि संखुवासभामा प्रजिअ पद रिक्त भएको थियो। सोही रिक्त स्थानमा भट्टराईलाई पठाइएको हो।
भट्टराई गत २०८२ साल चैत महिनामा बैतडीमा प्रजिअको रुपमा हाजिर हुनुभएको थियो । उहाँको चारमहिनामै सरुवा भएको हो ।
