बैतडी अस्पतालमा एन्टिभेनम र टिटानसको अभाव

बैतडी:जिल्ला अस्पताल बैतडीमा सामान्य चोटपटक लाग्दा प्रयोग हुने टिटानस र सर्पदंशविरुद्धको एन्टिभेनम औषधि अभावकाे छ।

औषधि अभाव भएपछि सेवाग्राही निजी मेडिकल धाउन बाध्य भएका छन् । 

प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीको सेवा विस्तार गर्दै हालको १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको अस्पतालको शय्या थप्ने योजना अघि बढिरहँदा बिरामीलाई आवश्यक पर्ने सामान्य औषधिसमेत उपलब्ध नहुनुले अस्पतालको सेवा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।

शय्या थपेर मात्रै अस्पतालको सेवा नसुध्रिने भएकाले बिरामीलाई आवश्यक औषधि र जनशक्ति प्रदेश सरकारले व्यवस्था गरिदिए सर्वसाधारणलाई सहज हुने स्थानीय मोहन पन्तले बताउनुभयाे ।
तीन-चार दिनदेखि टिटानससँगै एन्टिभेनम औषधिको समेत अभाव रहेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयाे ।

टिटानसको औषधि नेपाल सरकार केन्द्रको स्वास्थ्य सेवा विभागबाट निःशुल्क उपलब्ध हुने भएकाले अभावबारे विभागलाई जानकारी गराइसकेको जनाएको छ।

जिल्ला अस्पतालमा केही महिनादेखि सर्पदंशविरुद्धको एन्टिभेनम र रेबिजविरुद्धको खोपसमेत सकिएको थियो । रेबिजको खोप अहिले अस्पतालमा पुगे पनि सर्पदंशविरुद्धको औषधि भने अझै प्रदेशबाट नआएको अस्पतालका प्रमुख डा. अरविन्द जोशीले बताउनुभयाे । अभाव भएका औषधिको व्यवस्थापनका लागि स्वास्थ्य सेवा विभाग र प्रदेश सरकारसँग समन्वय भइरहेको अस्पतालले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!