शाहीलेकमा बस दुर्घटना: एकजनाको मृत्यु,१० घाइते

बैतडी: बैतडीको शाहीलेकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे शाहिलेक नजिक दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ३५ बर्षीय विरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका–४ की २७ बर्षीया लक्ष्मी ऐर, दशरथचन्द नगरपालिका–४ मडलाका ८ बर्षीय बालक हेमविक्रम जोशी, सोही ठाउँकी ६० बर्षीया पूर्णदेवी जोशी, सोही ठाउँकी २२ बर्षीया पूजा कार्की र उनकी तीन बर्षीया छोरी दृष्टि कार्की रहेका छन् ।

यस्तै दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी २० बर्षीया ललिता लावड, सोही ठाउँकी ३२ बर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० बर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ बर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका–९ खोड्पेका ३५ बर्षीय कविराज भट्ट पनि घाइते भएका छन् ।

घाइते मध्ये कविराज भट्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे।

पाटन नगरपालिका–८ घर भएका ३७ बर्षीय केशवसिंह महराले चलाएको बस एक्कासी अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बसमा चालकसहित १२ जना सवार रहेका बताइएको छ । बस सडकबाट करीब ३० मिटर तल खसेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!