सुदूरपश्चिममा बिसु पर्वको रौनक,देवर-भाउजू सिस्नु लगाउँदै

बैतडी: बैतडीसहित सुदूरपश्चिममा बिसु पर्वको रौनक छाएको छ ।
नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ ।
अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।
देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । 
देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा  छ ।

 हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ ।
 बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्षसँगै नजिकिएसँगै घर फर्किने गरेका छन्।

नयाँ वर्ष घरपरिवारका सबै सदस्यहरु एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरु पनि घर फर्कने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयाे ।तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ ।

 पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन्  ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!