अबदेखि निवृत्तिभरण सेवा घरबाटै लिन सकिने

काठमाडौँ: सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली कार्यान्वयनमा आएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गर्नुभएको हो ।
यस प्रणालीमार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्ने भएका छन् । सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ ।

सो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरणसम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् ।

सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा प्रणालीमै उपलब्ध भिडियो मार्गदर्शन हेर्न सकिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!