काठमाडौँ: सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो ।
अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि गोश्वारा हुलाक कार्यालयस्थित भन्सार शाखालाई सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने प्रबन्ध मिलाउन लागिएको बताउनुभयो ।
त्यस्तै, राजस्व भुक्तानीका लागि त्यहाँस्थित बैंक शाखाले पनि आफ्नो सेवाहरू सुचारु राख्ने तयारी थालिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा सार्वजनिक बिदामा पनि खुला राख्न पहल भइरहेको हो ।
