सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै

सुदूरपश्चिम: जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ ।

क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका क्षयकुष्ट निरीक्षक मनोज ओझाले लक्ष अनुसार रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा उपचार पद्धति राम्रो भयो, तर उपचारको दायरामा नआउनेको रोगकै कारण मृत्यु हुने गरेको अनुमान छ, प्रदेशभरि ४० प्रतिशत बिरामी अझै पनि उपचारमा आउन नसकेको अनुमान छ ।”

लक्षण देखिने बिरामी स्वास्थ्य संस्थामा समयमै नआउने, सबै ठाउँमा पिसिआर(रोग पत्ता लगाउने जाँचको विधि)को पहुँच बढ्न नसक्नु, जाँच गर्नुपर्ने काममा फिल्ड तहमा कमी भइरहेको र लक्षण देखिएको बिरामी पनि उपचारमा ढिलो गरी आउनेजस्ता कारणले रोगीको सङ्ख्या बढेको देखिएको ओझाले बताउनुभयो ।

जनसङ्ख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेशमा दर्ता भएकामध्ये ६५ वर्ष उमेरमाथिका मात्रै २६ प्रतिशत यो रोगका बिरामी छन् । सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा छन्, । प्रतिलाख जनसङ्ख्याको हिसाबले यो रोगका बढी बिरामी कञ्चनपुरमा छन् ।

प्रदेशमा बर्सेनि क्षयरोगीको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७७÷७८ मा दुई हजार आठ सय २६ जना, आव ७८÷७९ मा तीन हजार चार सय २४ जना, आव २०७९÷८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आव ८१÷८२ मा तीन हजार छ सय ४८ जना बिरामी पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको माघ मसान्तसम्म प्रदेशमा एक हजार ८४० क्षयरोगीका बिरामी पुगेका छन् । यीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ बिरामी छन् । आव २०८१÷८२ को माघ मसान्तसम्ममा डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी पुगेका छन् ।

चालु आवमा प्रदेशका कूल बिरामीमध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोको क्षयरोगले पीडित हुने गरेको अनुमान छ । ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मष्तिष्कमा पनि क्षयरोगको सङ्क्रमण हुने गर्छ ।

सरकारले क्षयरोगको उपचार व्यवस्था निःशुल्क गरेको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!