कालीकोट: जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ । विगत लामो समयदेखि अवरुद्ध रहेको जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।
विगतमा दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबारका दिन जिल्ला अस्पतालबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।
प्रतिष्ठानले कालीकोट जिल्ला अस्पतालबाट प्रदान गरिँदै आएको विशेषज्ञ चिकित्सा सेवा विगत १० महिनादेखि विभिन्न कारणले नियमित हुनसकेको थिएन ।
विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पतालका सूचना अधिकारी कटक महतले बताउनुभयो ।

