काठमाडौं: दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न सुपर–८ खेलमा वेष्टइण्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
१३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन: खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।
त्यसपछि दक्षिण अफ्रिकाले पाएको १२३ रनको लक्ष्य १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
जसमा ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए ।
वेष्टइण्डिजका रोश्टन चेशले ३,आन्द्रे रसेलले २ र अल्जारी जोशेफले २ विकेट लिए ।
त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
रोश्टन चेशले सर्वाधिक ५२ रन जोडे ।
अफ्रीकाका तबरेज शाम्सीले ३ विकेट लिए ।
यो जितसंगै दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो भने वेष्टइण्डिज बाहिरिएको छ ।
