बैतडी:भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाट तीन दिन बन्द हुने भएको छ ।
यही फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।
निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो ।
बैतडीको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बिओपीमार्फत सुरक्षा निगरानी बढाएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरुबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
पहिलादेखि नै चुनावको समयमा ७२ घण्टा सीमा नाका बन्द गर्ने गरिएकाले यो चुनावमा पनि सीमा नाका बन्द गरिन लागिएको जनाएको छ ।
अत्यावश्यक कामका लागि उक्त समयमा नाका खोल्नुपरेमा दुईदेशको आपसी समन्वयमा खोल्न सकिने जनाएको छ ।
