बैतडी:बैतडीमा निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन (म्यादी) प्रहरीको मृत्यु भएकाे छ।
मृत्युु हुनेमा जिल्लाकाे मेलौली नगरपालिका-०६ हतरंगाका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) रहेका छन्।
बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ईलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ड्युटी सकेर गएराति घर फर्किएका घरमै एक्कासी बेहोस हुनुभएको थियाे।
बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्रमा पु¥याउँदा डाक्टरले मध्यराति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडकाे पनि ज्यान गएको थियाे।
खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियाे।
यस्तै माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दकाे पनि भीरबाट लडेर ज्यान गएको थियाे।
