बैतडी:आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । नेपाली कांग्रेसले यहाँ नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।
चतुरबहादुर चन्द बैतडीका लागि बलिया उम्मेदवार हुन् । कांग्रेसबाट तेजबहादुर चन्दले बागी उम्मेदवारी दिएपछि पार्टीभित्रै असन्तुष्टि जस्तो देखिएको थियो ।
तर आज शुक्रबार तेजबहादुर चन्दले आधिकारिक उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ । तेजबहादुरको उम्मेदवारी फिर्ताले कांग्रेस बैतडी एकढिक्का भएको भन्दै नेता कार्यकर्ता पनि खुसी भएका छन् ।
कांग्रेसका आधिकारिक उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै तेजबहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पार्टी एकढिक्का भएको आमन्त्रित जिल्ला सदस्य समेत रहनुभएकी कांग्रेस नेतृ कुश्मा चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“असन्तुष्ट भएर तेजबहादुरले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो तर कांग्रेसलाई समर्थन गर्ने भन्दै आज उम्मेदवारी फिर्ता लिनुभएको छ । अब कांग्रेस बैतडी एकढिक्का भएर अगाडी बढेको छ । ”
कांग्रेस महाधिवेशन प्रतिनिधि कपिल केसीले पनि तेजबहादुर चन्दको उम्मेदवारी फिर्ताको स्वागत गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘ देशको बिषम परिस्थितिलाई मध्यनजर गरी अखण्डता ,सार्वभौमिकता ,शांति र समृद्धिका लागि नेपाली कांग्रेस विजयी हुन अतिआवश्यक छ , त्यसकारण हामी सबैको आग्रहलाई स्वीकार गरी आदरणीय नेता तेज बहादुर चन्द ज्यु ले स्वतन्त्र उम्मेदवारी फिर्ता गरी आधिकारिक उम्मेदवार आदरणीय नेता चतुर बहादुर चन्द ज्यू लाई समर्थन गर्ने निर्णयको हामी हार्दिकतापूर्वक स्वागत गर्दछौं । जय नेपाल! ’
तरुण दलका केन्द्रीय सदस्य तथा स्थानीय नेता घनश्याम भट्टले उम्मेदवारी फिर्ता लिएकोमा तेजबहादुर चन्दलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘ धन्यवाद तेज जी । शेरबहादुर दाईलाई न्याय दिन सङ्गै हुनेछौं । जय नेपाल ।’
यसअघि वि स २०७४ सालपछि कांग्रेसलाई भोट हाल्न नपाएका नेताकार्यकर्ता तथा मतदाता पनि चतुरबहादुर चन्दको उम्मेदवारीले खुसी भएका छन् ।
कांग्रेसका नरबहादुर चन्दले २०७४ सालमा उम्मेदवारी दिएपनि पराजित हुनुभएको थियो । त्यसपश्चात २०७९ सालमा तत्कालिन माओवादी केन्द्रसंग तालमेल गर्दा कांग्रेसले उम्मेदवार टिकटबाट बञ्चित भएका थिए ।
मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार बैतडीमा अब भने फागुन २१ को निर्वाचनमा कांग्रेसका चतुरबहादुर चन्दसँगै ११ जना चुनावी प्रतिस्प्रर्धामा रहनुभएको छ ।
कांग्रेसका चन्दसँगै नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीका प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समाजवदी पार्टी नेपालका आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त चुनावी मैदानमा रहनुभएको छ ।
