बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलवार सम्पन्न मनोनयनमा १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीको उम्मेदवारी परेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट राम सिंह कुँवर,जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी,नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला,आम जनता पार्टीबाट विसन सिंह बोहरा,श्रम संस्कृति पार्टीबाट गजेन्द्र राज पाण्डेय उम्मेदवार बन्नुभएको छ ।
यसका साथै जयप्रकाश पन्त र तेज बहादुर चन्दको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।
कार्यक्रमअनुसार बुधबार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ ।
यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभाका लागि बैतडीमा एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
