सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी: बैतडीकाे मेलाैलीसहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना स्थापना हुने भएका छन्।
मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमकाे बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

बैतडीको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । प्रशासन स्थापनाले तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतालगायत अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

तल्लोस्वराड क्षेत्रमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई अब सहज हुने भएको छ।
पञ्चेश्वर गाउँपालिका अध्यक्ष गाेरखबहादुर चन्दले सरकारले गरेकाे याे निर्णय राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयाे, ” तल्लाेस्वराडबासीका लागि मेलाैलीमा इलाका प्रशासन स्थापना हुनु राम्रो हाे। नागरिकता बनाउनकै लागि हजारौं खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ।”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!