बैतडी: बैतडीमा आठ सय बढी जनाले मतदाता नमावलीमा नाम दर्ता गरेका छन् । निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अन्तिम समय सम्ममा आठ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा ८०४ जनाले मतदाता नमावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय बैतडी निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो।
अन्तिम समय सिमा सम्म ५२९ पूरुष र २७५ महिलाले मतदाता नमावलीमा नाम दर्ता गरेको उनले बताए । जिल्ला निर्वाचन कार्यालय बैतडीको तथ्याङ्क अनुसार असोज ८ गते सम्म बैतडीमा १८ बर्ष उमेर पूरा भएका १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन् । जसमध्ये महिला ७६ हजार ८३४, पुरुष ७७ हजार ३८०जना र अन्य दुई जना रहेका छन् । ८० प्रतिशत नया“ थपिएका मतदाता जेन–जी उमेर समुहका रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् । सो निर्वाचनमा ७८ हजार ३६९ (५२ प्रतिशत) मत खसेको थियो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ ।

