बैतडी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले
उपभोक्ता समिति मार्फत कुनै पनि काम नगर्न निर्देशन दिनुभएको छ।
शनिबार बैतडीमा आयोजित जनप्रतिनिधि,कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो।
ठेक्का सम्झौता मार्फत विकास निर्माणलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहले पालिका महासंघलाई समेत स्पष्ट मापदण्ड निर्धारण गरी अति आवश्यकता भएको ठाउँमा मात्र उपभोक्ता समिति मार्फत काम गर्ने गरी र प्रदेश कानुनमा अन्तर्गत समेटिने स्पष्ट मापदण्ड बनाउन निर्देशन दिनुभयो ।
यस्तै उहाँले योजना कार्यान्वयन कार्यतालिका निर्माण गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयाे।
उहाँले आवश्यक नभएको ठाउँमा बजेट विनियोजित गरिएको र काम सम्पन्न भइसकेका योजनामा समेत काम गरेको व्यापक जनगुनासो आउन थालेपछि स्पष्ट रुपमा कार्ययोजना तयार गरेर योजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।
“आवश्यकता नभएको ठाउँमा बजेट विनियोजित भएको व्यापक गुनासो आएको छ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “यदि यस्तो भएको छ, भने त्यस्तो बजेटहरु कार्यान्वयन हुने छैन, त्यसका लागि योजना कार्यान्वयन कार्यतालिका निर्धारण गर्नुहोस्।”
उक्त कार्यक्रममा प्रदेश सभा सदस्य शिवराज भट्ट,सुरेन्द्र पाल,जानकी ऐर बम, जिल्लाका अन्य जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागीता रहेकाे छ।
अन्तरक्रियाका लागि मुख्यमन्त्री शाह भाेलि दार्चुला प्रस्थान गर्ने कार्यक्रम छ।
