एनपीएल ट्रफी टुर सुदूरपश्चिममा सुरु, क्यान अध्यक्ष चन्द पनि सहभागी

कैलाली: नेपाल प्रिमियर लिग एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा सुरु भएको छ।

कैलालीको टीकापुर स्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट आज ट्रफी टुरको सुरुवात गरिएको हो ।

ट्रफी टुरको सुरुवात गर्दै नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएको बताउँदै क्रिकेटलाई माया गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि भएकाले यो ट्रफी टुरलाई सफल बनाउन सबैले सहयोग गर्नेमा आफू आसावादी भएको बताउनुभयो ।

सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले ट्रफी टुरमा सहभागिता जनाउन सबैलाई आग्रह गर्दै गएको वर्ष दोस्रो भएकोमा यस वर्ष सुदूरपश्चिम रोयल्स प्रथम हुने आसाका साथ मैदानमा उत्रिने बताउनुभयो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो चरणको ट्रफी टुर सुदूरपश्चिममा कैलालीको टीकापुरबाट सुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताउँदै ट्रफी टुर सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।

कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुख्खड, मसुरीया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरिया लगायतका स्थानमा ट्रफी टुरको र्‍याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।

विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने ट्रफी टुरको उद्देश्य रहेकोले यो टुरमा क्रिकेट प्रेमीहरूको सक्रिय सहभागिता रहनेमा आफू आसावादी रहेको सुदूरपश्चिम रोयल्सले बताएको छ ।

ट्रफी टुरको सुरुवात गर्ने क्रममा स्थानीयहरूले थारु संस्कृति झल्किने किसिमका विभिन्न झाँकीहरू समेत प्रदर्शन गरिएका थिए ।

सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ ।

एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि सुरु हुँदै छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!