प्रसिद्ध त्रिपुरा सुन्दरी जात्रा शुरु हुँदै,दशरथचन्दले दियो बिदा

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका ८ स्थित प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरको जात्रा बुधबारदेखि शुरु हुँदैछ । बुधबारदेखि शुरु हुने जात्रा दुई दिनसम्म सञ्चालन हुने त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो ।

रणशैनी भगवतीको नामले परिचित त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा राँगा तथा बोकाको बलि समेत दिने चलन रही आएको स्थानीय राजेन्द्र थापाले बताउनुभयो ।

त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल पक्षको षष्ठी तिथीबाट तीनरात अहोरात्र बस्ने चलन रही आएको छ ।

नेपालका उत्कृष्ट एक सय धार्मिक गन्तव्यको रुपमा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
कार्तिक शुक्ल अष्टमीका दिन भगवती भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने चलन रही आएको छ । कार्तिक शुक्ल नवमीको दिन मन्दिरबाट कापडीगाउँमा भगवतीको सवारी गराइने र त्यसपछि मञ्चमा सवारी गराइने थापाले बताउनुभयो ।

कार्तिक शुक्ल नवमीकै दिन भगवतीको भण्डारलाई भण्डारगृहमा लग्ने चलन रही आएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीबाट पूजाआजा हुँदै आएको विश्वास गरिएको छ ।
त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा धनधान्य, ऐश्वर्य र सन्तान प्राप्त हुने जनविश्वास रही आएको छ ।

यस्तै मन्दिरमा अहोरात्र बस्ने भक्तजनहरुका लागि पूजारागाउँका थापा परिवारको तर्फबाट ओढ्ने–ओछ्याउने दुई सय सेट कपडाको बन्दोबस्त गरिएको छ ।

जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिएको मन्दिर सेवा समितिले जनाएको छ।

यसैबीच यहाँको दशरथचन्द नगरपालिकाले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने जात्राको अवसरमा बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।
उक्त दिन नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैर सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताउनुभयो ।

नगरपालिकाले यहाँको जात्राको अवसरमा हरेक वर्ष सार्वजनिक बिदा दिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!